विराटनगर-  प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताईन । कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उनले बताईन । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताईन ।

शुक्रबार अस्पतालको अनुगमन गर्दै सामाजिक विकास मन्त्री राईले प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको बताईन । उनले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि बताईन । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिईन ।

कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको उनले बताईन । मन्त्री राईले भनिन,‘ प्रदेश सरकारले यसका लागि आवस्यक वजेटको पनि प्रवन्ध गरेको छ ।’ ९६ वटा वेड रहेको कोभिड अस्पतालमा आज४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए ।उनका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । उनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको बताए ।