विराटनगर- मोरङको बेलबारीबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना युवती छन् । प्रहरीले बेलबारी नगरपालिका–१ का ४६ वर्षीय बुद्धिमान तामाङ, धनकुटाको हिले घर भएका १८ वर्षीया जीया राई र सपना तामाङलाई बिहिबार साँझ पक्राउ गरेको हो ।

तीनै जना बुद्धिमानको घरबाट पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । उनका अनुसार लागुऔषध ब्राउन सुगरका कारोबारी बुद्धिमानले विगत ६ वर्षदेखि यसको धन्दा चलाइरहेको पाइएको छ । भारतका विभिन्न स्थानबाट ल्याएर राख्दै घरैबाट लागुऔषधको दुव्र्यसनमा फसेका सेवनकर्तालाई ब्राउन सुगर बिक्री गर्ने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये दुई युवती भने ब्राउन सुगरका सेवनकर्ता भएको पत्ता लाग्यो ।

बुद्धिमानको घरमा खानतलासी गर्दा १३ ग्राम पाँच सय ४० मिलिग्राम ब्राउन सुगर फेला परेको जानकारी एसपी राईले दिए । उनका अनुसार धानको भकारीभित्र लुकाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो । बुद्धिमानको साथबाट विभिन्न सिमकार्ड प्रयोग गरिएका आठवटा मोबाइल, नगद र ब्राउन सुगर बिक्री गर्दा प्रयोग गर्ने डिजिटल मेसिन (तराजु) पनि फेला परेको एसपी राईले बताए। प्रारम्भिक अनुसन्धानबाट ब्राउन सुगरको कारोबारकै क्रममा सबै मोबाइल जम्मा पारेको पाइएको छ ।

बरामद भएको ब्राउन सुगरको परिणाम, मोबाइल संख्या, डिजिटल तराजुसमेतले पनि उनी कानुनद्धारा बर्जित लागुऔषध ब्राउन सुगरको धन्दा चलाइरहेका कारोबारी हुन्भन्ने पुष्टि हुने प्रहरी स्रोतले बतायो । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउनलाई अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेको छ ।