विराटनगर- मोरङको बूढीगंगास्थित कोसी राजमार्गमा गम्भीर घाइते अवस्थामा भेटिएका एक युवाको गय राति मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित शिवम् प्लाष्टिक उद्योगअगाडिको सडकमा गम्भीर घाइते भएर लडिरहेको अवस्थामा २० वर्षीय रामकुमार राजवंशी भेटिनु भएको थियो ।
बूढीगंगा–३ का बासिन्दा राजवंशीको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति १०ः५५ बजेतिर मृत्यु भएको हो । सडकमा राति १० बजेतिर घाइते अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल लगेको थियो । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएजस्तो देखिन्छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रबहादुर खड्काले सडकको बीचमा गम्भीर अवस्थामा युवक भेटिएका कारण सवारी साधनले ठक्कर दिएको आशंका गरिएको बताए। तर कुन सवारी साधनले ठक्कर दिएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ । घाइतेको मृत्यु भएको र सवारी साधनको पहिचान हुन नसक्दा तथा दुर्घटना हो या हैनभन्ने नै यकिन नहुँदा घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरी स्रोतले बतायो । राजवंशीलाई ठक्कर दिएको हुनसक्ने आशंकामा प्रहरीले विभिन्न आठवटा सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

