विराटनगर-  विराटनगरमा आधार शरीर जलेको अवस्थामा आज दिउँसो एक पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१५ हड्ताली हाटका ५८ वर्षीय गंगाप्रसाद पोखरेलको शव आफ्नै घरको कोठाभित्र भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । उनका अनुसार कम्मरदेखि माथिको भाग पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएपछि शंकास्पद मानेर घटनाको अनुसन्धान थालिएको छ ।

शरीर जलेर मृत्यु भएको अवस्थामा घरभित्र शव रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन् । तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाश राउत नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ । राउत नेतृत्वकै टोलीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

एसपी जिसीले घटनाको यथार्थ पत्ता लाग्न बाँकी रहेको र केही दिनभित्रमै सत्यतथ्य पत्ता लाग्ने बताए । अविवाहित रहनु भएका पोखरेल आफ्नो घरमा एक्लै बस्नु हुन्थ्यो । घटनास्थलमा भेटिएका सवुत प्रमाणका आधारमा विशेष ढंगले अनुसन्धान थालिएको जानकारी एसपी जिसीले दिए । प्रहरीले घटनास्थमा मट्टिेलको जस्तो गन्ध आउने खाली प्लाष्टिकको बोतल फेला परेको छ ।

‘घटनास्थलमा मट्टितेल राख्ने गरिएको खाली बोतल भेटिएकाले मृतक आफैले मट्टितेल छर्किएर शरीरमा आगो लगाएको हुनसक्ने अनुमान छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना अरुले नै गराएको पनि हुनसक्ने भएकाले विभिन्न विधि अपनाएर अनुसन्धान भइरहेको छ ।’ पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाका बारेमा धेरै कुरा प्रष्ट हुने एसपी जिसीको भनाइ छ ।