विराटनगर-  प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ३ सय ८९ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को मानव अधिकार अवस्था र पत्रकारवीच मिडिया साँझेदारी बैठकमा ३८९ जना व्यक्ति पीडित भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

इन्सेक प्रदेश १ का प्रलेख अधिकारी पुन्य अधिकारीले सन् २०२१ को ६ महिनाको अवधिमा गैरराज्यपक्षबाट ३८२ र राज्य पक्षबाट ७ जना पीडित बन्न पुगेको प्रतिवेदन सार्जजनिक गरे । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हत्या घटनाका १६, बालिका बलात्कारका १०५, बालयौन दुव्र्यवहारका ४१, महिला बलात्कारका ६१, घरेलु हिंसाका ६२, कुटपीटका २१, बहुविवाहका १९ घटना भएको उल्लेख छ ।

वर्ष पुस्तक २०२२ का लागि गरिएको अद्र्धवार्षिक समीक्षा अवधिमा प्रदेश १ मा बालविवाह, मानव वेचविखन, नवजात शिशु हत्या, कुटपीट, सार्वजनिक सम्पतिमाथि तोडफोड, जातिय भेदभाव लगायतका घटना भएको प्रलेख अधिकृत अधिकारीले बताए ।

कार्यक्रममा मोरङमा ६ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे पनि प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

मानव अधिकार अवस्था र पत्रकारवीच मिडिया साँझेदारी बैठकमा प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला, इन्सेक प्रदेश १ प्रमुख सोमराज थापा, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लव घिमिरे, मोरङ अध्यक्ष संजीव खनाल, गैरसरकारी संस्था महासंघ मोरङ उपाध्यक्ष विष्णु शर्माले लगायतले बोलेका थिए ।