विराटनगर-नेपाल टेलिकमले साउन १ गतेबाट आईएमइआई दर्ता नभएको मोबाइल नचल्ने घोषणा गरेको छ । तर संचालनमा रहेका पुराना मोबाइलको भने इन्टरनेसनल मोबाइल इक्यूपमेन्ट आइडेन्टिटी(आईएमइआई) दर्ता गर्नु पर्दैन । संचालनमा रहेका मोबाईल सेट भने साउन १ गते पछि पनि संचालनमै रहने छन । 

तर तपाईलाई साउन १ गते पछि विदेशबाट उपहार आएको छ वा लिएर आउनु भएको छ भने त्यस्ता मोबाईल सेट भने आईएमइआई नम्बर दर्ता नगरि चल्दैन । चोरी पैठारीबाट करोडौंका मोबाइल भन्सार नतिरि भित्रने गरेपछि टेलिकमले दर्ता गर्नु पर्ने व्यवस्था गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

‘हाल सञ्चालनमा भएका मोबाइल फोनको आईएमईआई नम्बर दर्ता गर्नुपर्दैन । सञ्चालनमा रहेका मोबाइलमा कुनै समस्या आउने छैन,’ पौडेलले भने, ‘साउन १ गतेदेखि प्रयोग हुने नयाँ मोबाइलमा भने आईएमईआई अनिवार्य गरिएको छ ।’

नेपालमा बिक्री वितरण हुने मोबाइल सेटको हकमा व्यवसायी आफैले आईएमईआई नम्बर दर्ता गरेका हुन्छ । विदेशबाट मोबाइल ल्याउने वा आफन्तले उपहार स्वरुप पठाइएको मोबाइल आईएमईआई नम्बर दर्ता नगरेसम्म सञ्चालन गर्न सकिदैन । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अन्तर्गत आईएमईआई नम्बर दर्ता अनिवार्य गर्न लागिएको हो ।


अनलाईनबाटै आईएमईआई नम्बर दर्ता गर्नोस 


तपाईको मोबाइलको खोलको बाहिर पट्टी या भित्र पट्टी आईएमइआई नम्बर हुन्छ । यदि बट्टा हरायो र आईएमईआई नम्बर याद छैन भने पनि चिन्ता लिनु पर्दैन । मोबाइलमा स्टार ह्यास ०६ डायल गर्दा तपाईको मोबाईल सेटको आईएमइआई नम्बर देखाउछ । सिम सल्टका आधारमा आईएमईआई नम्बर फरक हुन्छ । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्नेमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । 


आईएमईआई नम्बर दर्ता गर्न दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । वेवसाइटमा रहेको आईएमईआई/ईएसएन/एमईआईडी मा गएर आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।