विराटनगर– नेपाली काँग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि मोरङ सभापतिका आकांक्षी बढेका छन् । सभापतिका लागि ६ जना दौडमा छन् । नेताहरुको जिल्लाको नेतृत्व हत्याउनका लागि   काठमाण्डौं–विराटनगर गर्नेक्रम बढेको छ । भदौ १७ गते देखि महाधिवेशन हुनेभएपछि अहिले वडा–वडामा काँग्रेसका नेताहरुको चहल पहल बढेको छ । वडातह देखि नै उम्मेदवारी घोषणा गर्ने क्रम बढेर गएको  छ ।

सभापतिका आकाँक्षी को–को हुन ?
१४ औं जिल्ला अधिवेशनमा सभापतिका लागि ६ जनाले अहिले सम्म दावी प्रस्तुत गरेका छन् । सभापतिमा पुन : दोहोर्याउने दाउमा बर्तमान सभापति डिकबहादुर लिम्वु सहित ६ जना नेताहरु अहिले दौडमा छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव जितेका लिम्बू यस पटक भने देउवा इतर पक्षमा लागेका छन् ।

  सभापतिको दौडमा देउवा इतर पक्षबाटै गोपालराज भण्डारी, १ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका केदार कार्की, वर्तमान मोरङ सचिव नागेश कोइराला,  निरन्जनप्रसाद रिजाल सभापतिको रुपमा चर्चामा छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दिलिप गच्छदार र रमेशजंग रायमाझी सभापतिको दौडमा छन् । देउवा इतर पक्षबाट सभापतिका लागि ४ जना प्रतिष्पर्धामा रहेपनि अधिवेशनको मिति सम्ममा एक जनाको मात्र उम्मेदवारी पर्ने मोरङ सचिव समेत रहेका नागेश कोइराला दावी गर्छन ।

वर्तमान सभापति लिम्बूले पनि सबैको सहमतिमा नेतृत्व चयनको प्रयास गरिने र छलफलबाटै उम्मेद्वारको पनि टुंगो लाग्ने बताए । सभापतिको दौडमा रहेका दिलिप गच्छदारलाई पार्टी सभापति देउवाको मात्रै नभएर यसअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापा र फोरम लोकतान्त्रिकबाट कांग्रेसमा मिसिएका विजयकुमार गच्छदारको पनि समर्थन रहेको बुझिएको छ । केन्द्रमा शेखर कोइराला, सशांक कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, गुरु घिमिरेलगायतका नेताहरु एकीकृत ढंगले जाने परिस्थिति बनेको खण्डमा मात्रै जिल्लामा पनि जित्न सकिने सो देउवा इतर समूहको विश्लेषण छ ।

मोरङमा १४ हजार क्रियाशिल सदस्य थपिए
मोरङमा क्रियाशिल सदस्यको संख्या ३० हजार पुगेको छ । १४ हजार २५५ नयाँ क्रियाशिल सदस्य थपिएपछि सदस्य संख्या बढेको हो । यसअघि मोरङमा १६ हजार २५५ क्रियाशिल सदस्य थिए । त्रियाशिल सदस्यहरुबाट झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधिहरुको मतदान प्रक्रियाबाट सभापतिसहित जिल्ला समितिको चयन हुनेछ ।