विराटनगर-प्रहरीकै मिलेमतोमा चाइनिज स्याउ तस्करी भएको र चार प्रहरीलाई कारवाही भएको घटना लगत्तै प्रदेश १ को प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आइपुगेका प्रहरी नायव महानिरीक्षक(डिआइजी) अरुणकुमार बिसीले सोमबार तस्करी रोक्न आफु कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता पत्रकारमाझ जाहेर गरे । 

अघिल्लो लक डाउनका बेला नेपाल भारत सीमामा भएको कडाइको कारण नेपाली खाद्यान्न उद्योगले आफ्ना सबै उत्पादन नेपालमा नै विक्री गरेका थिए । दोश्रो पटकको कोरोना संक्रमणको लहर रोक्न गरिएको नेपाल भारत सीमा सील नाममात्र थियो । त्यहि बेला स्याउ तस्करी भएर सीमा पारि पुगेको थियो । भारतीय उत्पादन विना कुनै रोकतोक नेपाल प्रवेश गरेको कारण नेपालका विस्कुट र चाउचाउ उद्योग बन्द गर्नु पर्‍यो । खाद्यान्नको विक्री २० प्रतिशत पनि भएन ।  


झापा, मोरङ र सुनसरीका सीमा क्षेत्रका विभिन्न प्रवेश गर्ने नाका र चोरबाटो बाँडेर भइरहेको तस्करी रोक्न सबै तरिकाले प्रहरी परिचालन गरिने डिआईजी बिसीले बताए । सीमा क्षेत्रबाट भइरहेको निर्वाध  तस्करी नियन्त्रणका लागि आफुले विशेष चासो राख्ने उनले बताए । 


प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रमुखको जिम्मेवारी लिएर आएका बिसीले सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सीमाको तस्करी नियन्त्रण लिने प्रतिबद्धता प्रकट गरेका हुन । नागरिकमैत्री प्रहरी, अपराध अनुसन्धानमा पारदर्शिता, अपराध नियन्त्रणमा कडाई, प्रहरीहरुको आर्थिक पारदर्शिता, मानव अधिकारको संरक्षण र पालना र सीमा जोडिएको क्षेत्रमा तस्करी नियन्त्रण गर्ने पाँच योजना डिआईजीले अगाडी सारे । 

प्राथमिकतामा सीमा क्षेत्रबाट भईरहेको तस्करी नियन्त्रणका लागि बहुआयमिक ढंगका काम गर्ने डिआईजी बिसीको दावी छ । उनले खुला सीमा भएका कारण पूणर् रुपमा तस्करी नियन्त्रण गर्न कठिनाई हुने र तस्करीका अन्य विविध कारणहरु रहेको समेत जानकारी गराए ।