विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि थप गरेको छ । खुकुलो प्रावधानसहित मङ्गलबारबाट सात दिनका लागि निषेधाज्ञा अवधि थप गरेको हो । थप गरिएको अवधिमा सार्वजनिक र निजी सवारी सञ्चालन खुला गरिएको छ ।

निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने सोमबार बिहान बसेको सिसिएमको बैठकले निर्णाय गरेको हो  ।  मंगलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।

यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने उनले बताए । अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैले अपनाउनु पर्नेछ ।यसअघि निजी सवारीलाई जोरबिजोर नम्बरका आधारमा खुला गरिएको थियो ।

मङ्गलबारबाट सार्वजनिक यातायातका साधन पनि जोरबिजोरका आधारमा खुला गरिएको  उनले बताए । सवारीसाधन जिल्लाभर मात्रै सञ्चालन हुन पाउनेछन् ।  लामा दुरीका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । ‘सार्वजनिक र निजी सवारीसाधन जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न दिने निर्णय भएको छ,’ उनले भने, ‘बजार पसल पनि बेलुका ६ बजेसम्म खुला गर्ने निर्णय भयो ।’

कोरोना सङ्क्रमण दर घट्दै गएका कारण निषेधाज्ञाको प्रावधान खुकुलो बनाइएको उनले बताए । होटल सञ्चालन गर्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए । एक सातापछि निषेधाज्ञा हट्ने उनले बताए ।