विराटनगर-पाँचथर याङवरक गाँउपालिका ४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका ६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हुन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।

त्यसैगरि सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका -१ खरिखोलाका ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्याङबाट लडेर मृत्यु भएको छ । सोताङ गाँउपालिका ५ मा रहेका ेबिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आईतवार राती ११ बजे भर्या्ङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो ।  

सुनसरीको कोशी गाउँपालिका-५ का अजल मियाको ९ बर्षीय छोरा ईर्फान मियाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो ३ बजेको समयमा घर नजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

उदयपुरको रौतामाई नगरपालिका-४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।