विराटनगर -  प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिले प्रदेशसभामा जारी आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफल एक सातादेखि रोकिएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै माओवादी केन्द्रले अबरुद्ध गर्दै आएको हो । माओवादी केन्द्रले प्रदेशसभा बैठक आइतबार तेस्रो दिनपनि अबरुद्ध गरेको छ ।
उपसभामुख सरस्वती पोखरेलले सदन सुचारु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अबरुद्ध गरेका थिए । सदन अबरुद्ध गरेपछि उपसभामुख पोखरेलले पटक पटक बस्न आग्रह गर्दासमेत नबसेपछि सोमबार दिउसो २ बजेसम्मका लागि सदन स्थगित गरिएकोछ ।  
माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नु पर्ने, सदनको रेकर्डबाट उनको भनाई हटाउनु पर्ने र सत्तारुढ दलले बजेट संशोधन गर्न लागेको विषयमा सदनमा प्रष्ट पार्नुपर्ने माग गरेको छ ।माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिदै मन्त्री गुरुङलाई दलाल, कमिशन खानेलगायतको आरोप लगाउदै आलोचना गरेका थिए ।

प्रदेशसभा सदस्य खड्काले लगाएको आरोपको खण्डन गर्दै मन्त्री गुरुङले दिएको जवाफप्रति असन्तुष्टि जनाउदै माओवादी केन्द्रले सदन अबरुद्ध गर्दै आएको हो । सदन अबरुद्ध हुदा बजेटमाथिको छलफल रोकिएको हो । हालसम्ममा बजेटको विषयगत क्षेत्रमध्ये भौतिक पूर्वाधार क्षेत्रको छलफल मात्रै भएको छ । गत सोमबारदेखि सामाजिक विकास क्षेत्रको छलफल हुने कार्यसूची रहे पनि मन्त्री गुरुङको अभिव्यक्तिपछि छलफल अघि बढ्न सकेको छैन ।