विराटनगर-कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ मा जेसिबीमा बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा गय राति पाँच जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ क २४०३ नम्बरको जेसिबी पूर्वतर्फ मोडिदै गर्दा राति ९ः१५ बजेतिर पछाडिबाट को १ च ४०७३ नम्बरको एम्बुलेन्स ठोक्किएको थियो ।
प्रसूति गराउनुपर्ने महिलालाई लिएर कोसी अस्पतालतर्फ जाँदै गरेको एम्बुलेन्स जेसिबीमा ठोक्किएर दुर्घटनामा परेको हो । जेसिबीमा ठोक्किएर अनियन्त्रित बनेको एम्बुलेन्सले दक्षिणतर्फ नै आउँदै गरेको को ३८ प ६०६३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रबहादुर खड्काले बताए ।
दुर्घटनामा प्रसूतिका लागि अस्पताल लग्दै गरिएकी विराटनगर-४ की ३० वर्षीया आस्था बास्तोला, उनका पति ३३ वर्षीय ईश्वर बास्तोला र एम्बुलेन्स चालक विराटनगर-१ का २९ वर्षीय प्रदीप दाहाल घाइते भएका छन् । दुर्घटनामा परेर स्कुटर चालक विराटनगर-१२ का ४३ वर्षीय पंकज भट्टराई र स्कुटरको पछाडि सवार २४ वर्षीय अमित सरदार पनि घाइते भएका छन् ।
टाउको, हात, खुट्टा, घुँडा, ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको कोसी अस्पताल र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा परेका सबै सवारी साधन र जेसिबी चालक विराटनगर-३ का २३ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

