विराटनगर-तीन दिनदेखिको भारी वर्षाका कारण मोरङ र सुनसरीमा रहेका दर्जनौँ खोलामा ठूलो बाढी आएको छ । बाढी आएर जलसतह बढेसँगै खोला आसपासमा बसोबास गरिरहेकाहरुमा त्रास बढेको छ । 


वर्षेनी खोलामा आउने बाढीका कारण मोरङ र सुनसरीमा ठूलो जनधनको क्षति हुँदै आएको छ । कयौं परिवार विस्थापित हुने गरेका छन् । निरन्तरको वर्षाका कारण खोलामा जलसतह बढेर बाढी आएको भन्दै जल तथा मौसम विज्ञान विभागले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । दुवै जिल्लाका दर्जनौँ स्थानमा ठूलो वर्षा भइरहेको विभागले जनाएको छ । विभागले सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टाभन्दा बढी निरन्तर ठूलो वर्षा भएको जनाएको छ । 


यसवर्ष मनसुन सुरु भएपछि यी दुई जिल्लामा पर्ने विभिन्न खोलाहरुमा पहिलो पटक ठूलो बाढी आएको हो । बाढीले क्षति पुर्याउनसक्ने भएकाले खोलानजिक बसोबास गरिरहेकाहरुले उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागको भनाइ छ । विभागले खोलाहरुमा पानीको सतह बढेको र सतर्कता अपनाउनुपर्ने विषयमा आज बिहानै सबैमा सूचित गरिसकेको हो । विभागका अनुसार मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा जलसतह बढेको छ । वर्षा अझै जारी रहने मौसमविद्ले बताएका छन् । 


उनीहरुका अनुसार नदी वरपरका बासिन्दाले क्षति हुनबाट बच्न बेलैमा सचेत हुनुपर्ने अवस्था छ । बाढीले पुर्याउनसक्ने क्षतिका बारेमा पूर्वसूचना प्रवाह गर्दै विभागले तटीय तथा डुबान भइरहने क्षेत्रमा सावधानीको विकल्प नभएको जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले बाढी तथा डुबानले पुर्याउनसक्ने क्षतिलाई मध्यनजर गरेर उच्च सतर्कता अपनाइएको बताउनु भयो । खोलाको छेउछाउमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानतर्फ सर्नका लागि आग्रह गरिसकिएको उहाँको भनाइ छ ।


 बाढी र डुबानले पुर्याउने सम्भावित क्षतिलाई ध्यान दिएर उद्धार तथा पीडितको पुर्नस्थापनाका लागि नेपाल प्रहरी लगायतका सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी मुकारुङले दिनु भयो । उहाँका अनुसार प्रहरीका विभिन्न युनिटले खोला वरपर निगरानी बढाएर त्यहाँको अवस्थाका बारेमा बेला-बेला जानकारी गराइरहेका छन् ।