विराटनगर-भारतबाट तस्करी गरी ल्याइएको अवैध चिनीसहित सुनसरीका राजेशकुमार खत्वे पक्राउ परेका छन् । तस्करी गरी नेपाल भित्र्याइएको चिनी बोकेको ट्रकसहित चालक खत्वेलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।


सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो । बिओपीका इन्चार्ज इन्स्पेक्टर दिलबहादुर पन्तको टोलीले विराटनगर-६ ब्रम्हापुरादेखि अवैध चिनी बोकेको को १ ख २१२९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए ।


मिनी ट्रकका चालक सुनसरी देवनगन्ज गाउँपालिका - २ का २८ वर्षीय खत्वे पक्राउ परेका हुन । उनले चिनी विराटनगरको भट्टीमोडसम्म पुर्‍याउने जिम्मा लिएको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको खुलेको छ । सुनसरीबाटै तस्करी गरेर अमरडुवामा राखिएको चिनी ट्रकमा लोड गरेर विराटनगरतर्फ लाग्दै गर्दा बाटोमै पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको चिनीको २ लाख १० हजार मूल्यांकन गरिएको छ । बरामद चिनी आवश्यक कानुनी कारबाहीको लागि बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।