विराटनगर-भाारतले प्रशोधित पाम तेलको आयात बुधबारदेखि खुला गरेपछि नेपालबाट पाम तेल निर्यात गर्ने बाटो खुलेको छ । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार सुचना प्रकाशित गर्दै पाम तेलको आयात खुला गरेको हो । भारतले गत बर्ष असारको मध्यमा तेलको आयात रोकेको थियो। यसबाट नेपालबाट हुने बार्षिक २५ अर्बभन्दा बढीको निर्यात प्रभावित भएको थियो ।
भारतले विश्वब्यापी रुपमै तेलको आयात रोकेको थियो । उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन काबराले भने- ’अब फेरि विश्वब्यापी रुपमै खुला गरेको छ। अब हामीले पनि निर्यात गर्न पाउँछौं ।’नेपालमा पाम तेलको उत्पादन भने हुँदैन । नेपालले तेस्रो मुलुकबाट आयात गरेर भारत पठाउने हो। यही कारण विगतमा नेपालको निर्यातको सूचीमा पाम तेल एक नम्बरमा थियो। यसैका कारण नेपालको निर्यात पहिलो पटक एक खर्ब रुपैयाँ नाघेको थियो ।
भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताकोतस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टी जनाएको थियो । नेपाल-भारत सचिवस्तरीय अन्तर सरकारी समिति (आइजीसी) बैठकमा समेत भारतले असन्तुष्टी जनाएको थियो ।
नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम आयात गर्छन् । नेपालमा पाम उत्पादन हुँदैन । बर्ष दिनअघि पाम निकासी बन्द भएपछि उद्योगीले सोयाबिन तेल निकासी गरिरहेका छन् ।
साफ्टा सम्झौंताको फाइदा उठाउँदै नेपालका उद्योगीले चार वर्षअघि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए । नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जिएसटी)वापत १२ प्रतिशत तिर्नुपर्थ्यो । जिएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूणर्तः मुक्त थिए ।
भारतले नेपालबाट निकासी हुने वस्तुमा प्रश्न उठाएको पाममा मात्र पहिलो पटक थिएन। विगतमा समेत तेस्रो मुलुकबाट सामान आयात गरेर निकासी गरेको भन्दै आइजीसी बैठकमा गम्भीर प्रश्न उठाएको थियो ।
तेस्रो मुलुकबाट आयातीत सुपारी नेपालबाट अवैध रुपमा भारत निकासी भएको विषय नेपाल-भारत व्यापार वार्तामा भारतीय अधिकारीले गम्भीर रूपमा उठाउँदै आए। केही वर्ष अघिको वार्तामा समेत भारतले यही मुद्दा उठाएर अरु मुद्दालाई गौण बनाएको थियो ।

