विराटनगर-मंगलबार बेलुकासम्म जीवन विकास लघुवित्त कम्पनीको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन । यो हालसम्मकै उच्च आवेदन हो । 


यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा  १८ लाख ४२ हजार ४८० आवेदन दिएका थिए । कम्पनीको आइपीओमा कुल ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ  । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको हो ।


कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।


कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।


त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।