विराटनगर-पछिल्लो समय गाँजा बोक्न एम्बुलेन्स प्रयोग हुन थालेको छ । आकष्मिक सेवा अन्तरगत पर्ने एम्बुलेन्सलाई हत्तपत्त सुरक्षा चेकजाँच गरिन्न । यसैको फाइदा उठाएर तस्करहरुले सुरक्षीत रुपमा गाँजा ओसार पसार गर्न एम्बुलेन्सलाई प्रयोग गर्न थालेका हुन । 

कोशी गाउँपालिका-८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले जेठ १६ गते राति १ सय ६५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो । गाँजा भण्टाबारीसम्म ल्याउन एम्बुलेन्सको प्रयोग गरिएकोमा सुनसरी प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात् एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको थियो । 

गाँजा बोक्ने एम्बुलेन्स तत्काल भाग्न सफल भए पनि को.१ च ६८८० नम्बरको एम्बुलेन्ससहित चालक सुशान्त राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नगेन्द्र कार्कीले जानकारी दिए । 

पछिल्लो घटनाक्रमले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट भारततर्फ हुँदै आएको गाँजा तस्करी रोकथाम तथा नियन्त्रणका लागि निगरानी बढाएको प्रहरीले दाबी गरे पनि गाँजा तस्करी गराउन तस्करहरूले नयाँ-नयाँ तरिका अवलम्बन गरिरहेको देखिन्छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गराउँदै आएका छन् ।


जेठ १६ गते भण्टाबारी नाका हुँदै भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गाँजा सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा गाँजासहित एक जनालाई नियन्त्रणमा लिए पनि उक्त गाँजा तस्करी गराउने गिरोहका मुख्य नाइके भनिएका  पाँचजना अझै फरार रहेका छन् ।


उक्त गाँजाको मुख्य गिरोहका बारे खोजतलास गर्ने क्रममा कोशी गाउँपालिका-८ का ४० वर्षीय गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिई उनको बयानका आधारमा कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारी क्षेत्रलगायत स्थानका पाँच जनालाई पक्राउ पुर्जी जारी गरिए पनि उनीहरूलाई अझै नियन्त्रणमा लिन नसकिएको स्रोतको भनाइ छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लाका विभिन्न स्थानबाट ७ सय ७४ केजी गाँजा बरामद गरिएको छ भने ३० जना व्यक्ति पक्राउ परेका छन् । एम्बुलेन्समा गाँजा ओसार-पसार गर्ने गिरोहको बारेमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको बताउँदै डिएसपी कार्कीले फरार रहेका आरोपितहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्ने दाबी गरे ।

कोशी गाउँपालिका-८ स्थित राजमार्गको दक्षिणपट्टि रहेको पानीट्याङ्कीको नजिक प्लास्टिकले बेरी राखिएको ६ थान शङ्कास्पद बोरा फेला पारी चेकजाँच गर्दा १ सय ६५ केजी गाँजा बरामद गरिएको थियो । केही समयअघि सशस्त्र प्रहरीले भण्टाबारीबाटै ४९ केजी गाँजा बरामद गरेको थियो ।