विराटनगर-कोभिड १९ को कारण नेपाल भारत सीमानाका सील भएको अवस्था नेपाली नम्बर प्लेटका तीन वटा मिनि ट्रकमा भारत पुर्‍याइएको १३ सय ५० कार्टुन स्याउका बारेमा नेपाल प्रहरीको संलग्नता बारे छानविन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दोष रहेका र चार जना दोषी देखिएकाले कारवाहीको सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको छानविन टोलीले पनि सशस्त्र प्रहरीका डिआइजी बंशीराज दाहाललाई प्रतिवेदन बुझाएको छ । 


भारतीय प्रहरीले जेठ ३० गते तीनवटा नेपाली नम्बरको गाडीबाट १३ सय ५० कार्टुन चाइनिज स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीतर्फबाट गठित अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन सङ्घीय प्रहरी इकाई कार्यालयका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको थियो । छानविन पछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।


दुबै तर्फ नाका सील भएको अवस्थामा १३ सय ५० कार्टुन चाइनिज स्याउ बोकेर तीनवटा नेपाली गाडी सजिलैसँग भारतीय भूमिसम्म पुर्‍याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो । 

आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चारजना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चाइनिज स्याउ बोकेका तीनवटा नेपाली नम्बरका ट्रक भारतसम्म पुर्‍याइएको थियो ।

घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सइ गङ्गा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असइ टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असइ आशनारायण चौधरीलाई निलम्बन गरेको थियो ।

अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सइ गङ्गा थापा र कोशी कटानका असइ आशनारायण चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असइ टेकबहादुर कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए ।


त्यसैगरी अस्थायी प्रहरी चौकी हरिपुरका असइ भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सइ किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको बताइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानविन समितिले प्रतिबेदन बुझाएको र त्यसको छानविन भइरहेको शसस्त्र प्रहरी बल बराहबाहिनी पकलीका डिआइजी बंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएकार शसस्त्र प्रहरी माथि कारवाही हुने उनले बताए ।