विराटनगर- विराटनगरस्थित बालसुधार गृहबाट हामफालेर फरार बनेका सबै जना बालविज्याइँकर्तालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । फरार भएका चार जनामध्ये तीन जना आइतबार बिहान पक्राउ परेका छन् । एक जना भने भाग्दै गरेको अवस्थामा हिजै पक्राउ परेका थिए ।
मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङका अनुसार तीन जनालाई आईतबार बिहान ९ः१५ बजेतिर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालनजिकको चिया पसलबाट पक्राउ गरिएको हो । चार जना बालविज्याइँकर्ता शनिबार बिहान २ः५५ बजेतिर सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेका थिए । जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरिसकेका सोलुखुम्बु घर भएका एक जनालाई भाग्दै गरेको अवस्थामा तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अदालतको फैसला अनुसार बालसुधार गृहमा रहेर कैद सजाय भुक्तान गरिरहेका बेला उनी फरार बनेका हुन् । फरार बनेका चार जनामध्ये सङ्खुवासभा, उदयपुर र झापा घर भएका अरु तीन जना सम्पर्कविहीन बनेका थिए । बालविज्याइँकर्ता फरार बनेपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको विशेष टोलीले व्यापक रूपमा खोजी गरिरहेको थियो । सबैतिर निगरानी बढाएर खोजी तीव्र पारिएकै कारण फरार भएकाहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको डिएसपी मुकारुङको भनाइ छ ।
आईतबार बिहान पक्राउ परेका दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका बालविज्याइँकर्ता हुन् । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार एक जनालाई भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको थियो ।
हामाफालेर भाग्ने क्रममा उनीहरुको हात, खुट्टा, ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको पाइएको डीएसपी मुकारुङको भनाइ छ । उनँका अनुसार नियन्त्रणमा लिइएका सबै जनाको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि आवश्यक समन्वय गर्दै उनीहरुलाई पुनः बालसुधार गृहमा लगेर राखिने मुकारुङले बताए ।
विभिन्न अपराधिक घटनामा संलग्न भएर कानुनी द्धन्द्धमा मुछिएकामध्ये अदालतबाट पूर्पक्षका लागि थुनामा राख्न आदेश भएका र मुद्दामा कैद सजायको फैसला गरिएका बालकहरुलाई बालसुधार गृहमा राख्ने गरिएको छ । ५० जना क्षमताको गृहमा अहिले एक सय ९५ जनालाई राखिएको छ ।

