विराटनगर-  मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न भएको विवादपछि मोरङको सुनवर्षीमा एक व्यक्तिले ढुङ्गाले हानेर आफ्नै वृद्ध बाबुको हत्या गरेका छन् । मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङका अनुुसार मदिराको नसामा रहेका सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् ।

दयालुले हिजो बिहान ६ बजेतिर सुतिरहेकै ओछ्यानमा पुगेर ढुङ्गाले वृद्ध बुवाको टाउकोमा हानेको खुलेको मुकारुङको भनाइ छ । छोराको ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुनेभन्दै भारतको सिलिगुडी अर्थात अरु नै सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदियो । तर थप उपचारका लागि नलगिकन गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो । डिएसपी मुकारुङका अनुसार टिनतालको आज बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण थप उपचार पाउन नसक्दा छोराको आक्रमणमा परेका वृद्ध पुरुषको मृत्यु भएको उनको भनाइ छ । प्रहरीले बाबु–छोरीबीच मापसेका विषयलाई लिएर बढेको विवाद हत्याको घटनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेपछि टिनतालले सम्झाईबुझाई गर्न थालेपछि बाबु–छोराबीच विवाद बढेको पाइएको छ ।

विवादपछि रिसईबी साँधेर बसेका दयालुले सुतेको ओछ्यानबाट उठ्न नपाउँदै बाबुलाई ढुङ्गाले प्रहार गरेको प्रहरीको भनाइ छ । बाबुको हत्यामा संलग्न दयालुलाई पक्राउ गर्दै इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनमोल खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ । पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने जानकारी डिएसपी मुकारुङले दिए ।