विराटनगर-सुनसरीको कोशी गाउँपालिका-८ नङ्खुटोलस्थित पुर्व-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । थप दुई जना घाईते भएका छन् ।
आइतबार बिहान पौने ८ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरीको डाक्नेश्वरी-५ का २८ बर्षीय उदय साह, मोटरसाईकलको पछाडी सवार मोरङको विराटनगर-९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर-७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोटको बिदुर नगरपालिका-१३ का ३५ बर्षीय विवश तामाङ र हायसका सह-चालक विदुर-११ का २५ बर्षीय नारायण बस्यालको विराट अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटना भएका तीनवटै सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

