विराटनगर- विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालविज्याइँकर्तामध्ये एक जना पक्राउ परेका छन् । फरार रहेका तीन जना अझैसम्म सम्पर्कविहीन छन् । आज बिहानका राति गृहको तीन तलामाथिबाट हामफालेर एकैपटक १९ वर्षसम्मका चार जना फरार बनेका थिए ।
भागेकामध्ये एक जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सके पनि अरु तीन जना अझैसम्म फरार रहेको र प्रहरीको सहयोगमा खोजी तीव्र पारिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए । उनका अनुसार भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका हुन् । उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरेको थियो । फरार भएर फेला नपरेका तीन जना सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएकाहरु हुन् । दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका अभियुक्त हुन् ।
अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । एक जनालाई भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको थियो । गृहबाट हामफालेर भागेका सबै जनालाई दोस्रो भेरियन्टपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले उपचारका लागि आइसोलेसन भर्ना गरिएको थियो । उपचार गराएर कोरोनामुक्त हुँदै केही दिनअघि फर्किएका उनीहरुलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बालसुधार गृहको छुट्टै हलमा राखिएको थियो ।
हलमा राखिएका २२ जनामध्ये चार जना भने फरार बनेका हुन् । चौहानले गृहको कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालविज्याइँकर्ता भागेको बताए । घटनाको मोरङ प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । भागेकाको खोजी तीव्र बनाएर बालसुधार गृहको सुरक्षामा खटिएका प्रहरीसँग घटनाका बारेमा आवश्यक सोधपुछ गर्दै घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
गृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (असइ) मानबहादुर बस्नेतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालित थियो । प्रदेश १ मा बालविज्याइँ र कानुनी द्धन्द्धमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ । तर अहिले गृहमा झण्डै चार गुणा बढी अर्थात एक सय ९५ जनालाई राखिएको छ ।
विभिन्न अपराधिक घटनामा संलग्न भएर कानुनी द्धन्द्धमा मुछिएकामध्ये अदालतबाट पूर्पक्षका लागि थुनामा राख्न आदेश भएका र मुद्दामा कैद सजायको फैसला गरिएका बालकहरुलाई बालसुधार गृहमा राख्ने गरिएको छ ।

