विराटनगर-प्राथमिक बजारमा शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ । 


सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८४४ जना आवेदकबाट रू. ९४ करोड ७१ लाख २४ हजार बराबरको ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । 


कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।


प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


यो आईपीओ पहिलो दिनमै विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । सो अवधिभित्र आवेदन नपरेको खण्डमा भने ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको थियो ।


आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । 


यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूणर् बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 


हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ ।


यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।


नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।


कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।