विराटनगर -  विराटनगरबाट लागुऔषधसहित सशस्त्र प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ परेका युवा भारतीय नागरिक हुन् । सशस्त्र प्रहरी बल बिओपी दरैयाबाट खटिएको टोलीले भारतको अररिया भवानीपुर घर भइ विराटनगर महानगरपालिका–१२ बखरीमा डेरा गरेर बस्ने १८ वर्षीय करन कामतलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर–१६ दरैयाबाट हिजो पक्राउ परेका कामतलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको बताए । उनका अनुसार कामतले पाइन्टको गोजीभित्र खुकुरी चुरोटको बट्टामा लुकाएर ल्याएको अवस्थामा लागु औषध बरामद भएको छ ।

उनको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) तीन ग्राम चार सय मिलिग्राम र नाइट्राभेट तथा स्पास्मोप्रोक्सिभनसमेतका लागुऔषध र नेपाली एक हजार रुपैयाँको नोट बरामद भएको एसपी पौडेलको भनाइ छ ।