बेलबारी-बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको बजेट नगरसभामा उपमेयर ढाका कुमारी पराजुलीले प्रस्तुत गरिन ।  


बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, संघीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, बिभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको छ । 

यसैगरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को योजना तथा कार्यक्रममा कला साहित्य र पत्रकारहरुका लागि भवन निर्माण गर्ने भएको छ । कला साहित्य र पत्रकारहरुका लागि भवन निर्माण गर्ने, पत्रकार महासंघ प्रदेश १ अक्षयकोषका लागि ५ लाख प्रदान गर्ने कार्यक्रमहरु समेटिएका छन ।

नगरसभामा प्रस्तुत मुख्य योजना तथा कार्यक्रमहरुमा, गरिबसँग नगरपालिका कार्यक्रम, दुःखमा नगरपालिका कार्यक्रम, भुमि बैंक, विपन्न नागरिकलाई खाद्य सुरक्षा, एक वडा एक उत्पादन, एक वडा एक जेष्ठ नागरिक चौतारी, हेल्प डेस्कको व्यबस्था, नागरिक दन्त उपहार कार्यक्रम, नेत्र ज्योती कार्यक्रम, खुल्ला ब्यायामशाला निर्माण, निशुल्क फिजियो थेरापी सेवा केन्द्र स्थापना, खुल्ला बाल उद्यान निर्माण तथा सन्चालन, आधुनिक कोल्ड स्टोर निर्माण, स्मार्ट कृषि कार्यक्रम, समृद्ध कृषि कार्यक्रम, जनप्रतिनिधिसँग मनका पिडा कार्यक्रम जस्ता दर्जनौ योजनाहरु रहेका छन ।