विराटनगर-आर्थिक वर्ष २०७८/७९ का लागि विराटनगर महानगरपालिकाले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन ।  चालु आवमा राजश्व खुम्चिएपछि ५० प्रतिशत नगर योजनाहरु संचालन हुन नसकेको बेलामा पनि महानगरले चालु आवकै हाराहारीमा बजेट प्रस्तुत गरेको छ । 

आव २०७८/०७९ कालागि कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपीयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।

पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

वडास्तरीय आयोजनामा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ । यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्याकालिन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपीयाँ विनियोजन गरेको छ ।

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षा तर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुद तर्फ १ करोड ६१ लाख, स्वास्थ्य तर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड रुपीयाँ बजेट विनियोजन गरेको छ ।


नगरसभामा त्रीवर्षीय मध्यकालिन खर्च संरचना अन्तरगत आगामी तीन वर्षको खर्चको अनुमान पनि पेश गरेको छ । महानगरले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ ।