विराटनगर - विराटनगर महानगरपालिकाको सहकार्यमा दिगो विकास इन्सिच्यूटले एक सय २ जना इलेक्ट्रिक सिटि रिक्सा चालकहहरुलाई राहत वितरण गरिएको छ । निषेधाज्ञाका कारण सिटी सञ्चालन गर्न नपाउँदा उनीहरुलाई हातमुख जोड्न समस्या भएको थियो । सिटी चालकलाई थोरै भए पनि राहत पुगोस् भनेर खाद्य सामग्री वितरण गरिएको इन्सिच्यूटले जनाएको छ ।

उनीहरुलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले राहत वितरणगरे ।  इन्सिच्यूटले सिटी चालकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेर प्रशंसनीय कार्य गरेको मेयर पराजुलीले बताए ।


लकडाउनको बेला विभिन्न संघ सस्थाहरुले खाना खुवाउने र राहत वितरण गर्दै आइरहेकाले नगर क्षेत्रका अति विपन्नहरुलाई केही राहत मिलेको उनले बताए । उनले महानगरपालिका क्षेत्रभित्र  संघसंस्थाहरुले गरेको योगदानको प्रशंसासमेत गरे । समस्यामा परेका वर्गलाई लक्षित गरी राहत वितरण गरिएको इन्सिच्यूटका प्रतिनिधि निराकार श्रेष्ठले बताए ।

प्रतिपरिवार २५ किलो चामल, १ १ किलो दाल, १ किलो नुन र १ लिटर तेल वितरण गरिएको उहाँले जानकारी दिए। राहत वितरण कार्यक्रममा गैर सरकारी संस्था महासंघ मोरङकी उपाध्यक्ष विष्णु शर्मा, इलेक्ट्रिक सिटि रिक्सा मजदुर संघ नगरका अध्यक्ष गोपाल भुजेल लगायतले राहत वितरण गरेकाथिए ।