विराटनगर -मन्दिर निर्माणको काम गरिरहेको अवस्थामा विराटनगरमा करेन्ट लागेर बुधबार दिउँसो एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१५ भट्टा चोकमा निर्माणाधीन बजरङ्गबली मन्दिरका मजदृुर भारत जोगवनीका २५ वर्षीय तावारूल आलमको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अुनसार निर्माणाधीन मन्दिरको रड बाँध्ने तार काट्ने क्रममा मेसिनबाट विद्युत लिक भएर करेन्ट लाग्दा आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।
यसैबिच मोरङको सुन्दरहरैँचामा कवाडी सङ्कलनको काम गर्दै आएका भारतीय नागरिक ४५ वर्षीय सुरेन्द्र चौधरी दिउँसो मृत फेला परेका छन् ।
स्थानीय बासिन्दाले सुन्दरहरैँचा नगरपालिका–१० सुन्दरमार्गस्थित सडक छेउमा दिउँसो २ बजेतिर चौधरीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका हुन् ।
डीएसपी राईका अनुसार भारत घर भएका चौधरी सुन्दरहरैँचा–१२ खोर्सानेमा कवाडी सङ्कलनको काम गर्दै आएको खुलेको छ ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । तर मृत्युको कारण खुल्न बाँकी रहेको डीएसपी राईले बताए ।

