विराटनगर-  विराटनगरमा लागुऔषध मुद्दाका कोरोना भाइरस संक्रमित एक अभियुक्तले गय राति आत्महत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

भारतबाट लागुऔषध लिएर आउँदै गर्दा यादवलाई नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गत वैशाख २७ गते राति पक्राउ गरेको थियो । यादवको साथबाट लागुऔषध स्पास्कोर भोन–प्लस ४८ चक्की, नाइट्राभेट ५८ चक्की र डाइलेक्स डिसी १० बोतल फेला परेको थियो । अदालतबाट म्याद थप गरेर लागुऔषध ऐनअन्तर्गतको मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका यादवको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएसँगै अदालतको आदेश अनुसार प्रहरीले जेठ ८ गते परिवारका सदस्यको जिम्मा लगाएर पठायो । संक्रमणमुक्त नभएसम्म ‘होम आइसोलेसन’मा राख्ने र संक्रमणमुक्त भएपछि प्रहरीमा उपस्थित गराउने शर्तमा परिवारका सदस्यले जिम्मा लिएर लगेका लागुऔषध मुद्दाका अभियुक्तले घरमै झुण्डिएर आत्महत्या गरेको डीएसपी राईको भनाइ छ । उनका अनुसार डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि परिवारका सदस्यले डोरी काटेर यादवलाई उपचारका लागि कोसी अस्पताल ल्याएको खुलेको छ ।

अस्पताल ल्याउनसाथ चिकित्सकले राति नै मृत घोषित गरेका हुन् । खुट्टामा टेपले बाँधेर भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गर्दा नेपाल–भारत सीमानजिक विराटनगर–१६ बाट यादव पक्राउ परेका थिए । डीएसपी राईका अनुसार आत्महत्या गरेका अभियुक्त हालसम्म संक्रमणमुक्त भएको कुनै प्रमाण प्रहरीलाई प्राप्त भएको छैन । संक्रमित अभियुक्तले आत्महत्या गरेपछि अस्पतालबाट मृत्यु पुष्टि गराउने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।