विराटनगर- मोरङमा भएको दुर्घटनामा परेर कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको गय राति मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा भएको दुर्घटनामा एक जना बैंकका कर्मचारीको पनि मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

पूर्वतर्फ गइरहेको टिपरबाट छलिन खोज्न विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल पल्टिएपछि त्यसमा अर्को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपरबाट जोगिन खोज्दा को २९ प ९५५० नम्बरको मोटरसाइकल सडकमा पल्टिएको थियो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले साँझ ७ः४० बजेतिर सडकमा पल्टिएको मोटरसाइकलमा टिपरको पछाडि रहेको अर्को को ३६ प ५९७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जानकारी दिए। उनका अनुसार पछाडि रहेको मोटरसाइकल टिपरलाई ओभरटेक गरेर अगाडि बढ्न खोज्दा सडकमा पल्टिएको अर्को मोटरसाइकलसँग जुधेको हो । दुर्घटनामा परेर दुवै मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए ।

घाइतेमध्ये दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो । गम्भीर अवस्थाका अर्का घाइतेको उपचार जारी छ । दुर्घटनामा परेर को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका चालक नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव धनकुटाको पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको शर्माले बताए । त्यसअघि राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिव रहनुु  भएकाका कृष्णबहादुरले पार्टी एकीकरणपछि कांग्रेसमा पनि जिल्ला सचिवकै जिम्मेवारी पाएकाथिए । उनले चलाएको मोटरसाइकलको पछाडि सवार धनकुटाको पाख्रीबास–७ का २५ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते  भएका  छन ।

घाइतेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । घाइते भीमबहादुर नातामा मृतक कृष्णबहादुरका भाइ पर्नुहुन्छ । कांग्रेस धनकुटाका अर्का सचिव विजय सन्तोषी राईले धनकुटाबाट झापातिर जाने क्रममा कृष्णबहादुर र भीमबहादुर चढेको मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिए। दुर्घटनामा जिल्ला नेता गुमाउँदा कांग्रेसलाई ठूलो क्षति पुगेको उनको भनाइ छ ।

त्यस्तै दुर्घटनामा को २९ प ९५५० नम्बरको मोटरसाइकलका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय दीपु साहको पनि मृत्यु भएको एसपी शर्माले बताए । मृतक साह मोरङको बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी भएको खुलेको छ । बेलबारीबाट इटहरीस्थित घरतर्फ आउँदै गर्दा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । एसपी शर्माले दुर्घटनाको कारक बनेको टिपरको नम्बर नखुलेको र खोजी तीव्र पारिएको बताए । दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै मोटरसाइकललाई भने नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।