विराटनगर– नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् ।
आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाए । उनले भने,‘घेराबन्दीमा भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ ।

खोपको समानुपाति वितरण हुन सकेको छैन कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।’
सरकारमा रहेको दलभित्र एक समूहले अर्काेलाई पाखा लगाएर चलखेलमा विकाससंग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको उनले बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको प्रमुख सचेतक कार्कीले टिप्पणी गरे ।
प्रदेश नम्त्रर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरु छन भन्ने हेक्का नराखेको पाइएको आरोप लगाए ।
अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले ठोकुवा गरे ।