विराटनगर - मोरङको रतुवामाई नगरपालिका १० बाट वनको कर्मचारी तथा पत्रकार हु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई पक्राउ गरेको हो ।

गत असार ४ गते बेलुका रतुवामाई १० स्थित पूर्णबहादुर श्रेष्ठको माईवेनी समिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए  । पक्राउ परेका उनीहरुको साथबाट नगद रु. ३२ हजार ९९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड  १ थान, उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्रसमेत बरामद गरेको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजारदेखि ११ हजार ५ सय रुपैयाँसम्म उठाएको उल्लेख गरिएको छ । प्रहरीका अनुसार उनीहरुले बनको कर्मचारी र पत्रकार हौं भन्दै कार्यालयमा तेल माग्ने र धम्की दिने गरेका थिए ।उनीहरुले डरत्रास देखाई विभिन्न काठ मिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेकाहरु विरुद्ध ठगी कसूरमा थप अनुसन्धान शुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।