विराटनगर-  मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले शुक्रबार बिहान पथरीशनिश्चरे नगरपालिका र गय राति कानेपोखरी गाउँपालिकाबाट दुई÷दुई जनालाई पक्राउ गरेको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार पथरीशनिश्चरे–१ स्थित सिनेमा हलनजिकबाट ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट १३ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर र तौल लिने डिजिटल मेसिन बरामद भएको एसपी श्रेष्ठले बताए ।

उनका अनुसार बिक्री गर्दा तौल लिने मेसिनसमेत साथबाटै फेला परेपछि पक्राउ परेकाहरु लागुऔषध ब्राउन सुगरका कारोबारी रहेको पुष्टि हुन्छ । त्यस्तै प्रहरीले कानेपोखरी–२ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट दुई ग्राम चार सय मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी श्रेष्ठले बताए । पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।