विराटनगर- कारोबारीको गिरोहले लुकाएको १८ किलो लागुऔषध गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–६ ब्रह्मपुरास्थित एउटा घरबाट शुक्रबार दिउँसो प्रहरीले गाँजा बरामद गरेको हो । नेपालबाट भारततिर अवैध रूपमा गाँजा ओसारपसार र कारोबार गर्ने गिरोहका तीन जनालाई प्रहरीले हिजो विराटनगरबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारतीय नागरिक सोनु यादव, सुनसरी देवानगञ्जका रन्जितकुमार यादव र धनकुटा घर भएका रुद्र राई रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुले घरभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरीले गाँजा लुकाएको घर कसको हो भन्ने खुलाएको छैन । तर गाँजा भारत कटाउनका लागि धनकुटाबाट विराटनगरसम्म ल्याइएको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरु लामो समयदेखि लागुऔषध गाँजाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ ।
प्रहरी हिरासतमा रहेका रन्जितले गाँजा कारोबारका लागि मध्यस्थकर्ताको भूमिका खेल्ने गरेको खुलेको छ । धनकुटाको छिन्ताङबाट गाँजा झिकाएर भारतीय कारोबारीसँग सम्पर्क गर्दै बिक्री गर्ने धन्दामा उनको संलग्नता देखिएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए । उनका अनुसार रन्जितले धनकुटाका चन्द्र र भारतीय नागरिक सोनुसँग सम्पर्कमा रहेर गाँजा कारोबारको मध्यस्थता गर्ने गरेको पाइएको छ ।
मगाए अनुसार धनकुटाबाट चन्द्रले ‘सप्लाई’ गर्ने गाँजा रन्तिजले सोनुमार्फत भारत पुर्याउने गरेको फेला परेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको डीएसपी राईले बताए । अनुसन्धान पश्चात गाँजा कारोबारका बारेमा विस्तृत विवरण प्राप्त हुने उनको भनाइ छ । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

