विराटनगर - कोरोना भाइरस कोभिड १९विरुद्ध पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका नेपालका करिब १४ लाख नागरिक जोखिममा परेको एम्नेस्टी इन्टरनेसनले बताएको छ ।

शुक्रबार अपिल जारी गर्दै एम्नेस्टीको नेपाल कार्यालयले दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न पनि एम्नेस्टीले धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको छ ।

‘विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय समुदायले तत्काल नेपाललाई पर्याप्त खोप दिए १४ लाख नागरिकलाई खतरामुक्त गर्न सकिने’ एम्नेस्टीको अपिलमा भनिएको छ ।सरकारले ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई गत वर्ष फागुन अन्तिम र चैत पहिलो साता भारतीय कम्पनी सेरमले उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन खोप लगाइदिएको थियो ।

नियमानुसार उनीहरूले दोस्रो डोज १२ हप्ताभित्रमा लगाइसक्नुपर्ने थियो  तर अहिले सम्म उनिहरुले खोप लगाउन पाएका छैनन् । पहिलो डोज कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो डोजमा अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको अस्ट्राजेनेका खोप लगाउँदा कुनै असर नगर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । तर भ्याक्सिन उपलब्ध हुने मिति अनिश्चित बन्दा नागरिकमा भने चिन्ता बढ्न थालेको छ ।