विराटनगर- भारतबाट नेपाल छिरेको जङ्गली हात्तीको फोटो खिच्न खोज्दा त्यही हात्तीको आक्रमणमा परेर मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। राईका अनुसार बिहान ७ बजेतिर कुरेलीमा देखा परेको हात्तीलाई भेला भएका स्थानीयले लखेट्न खोजेका थिए ।
स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो । गम्भीर घाइते मनोहरको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा शुक्रबार बिहान ८ः४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए । वडाध्यक्ष नुरुल मियाँका अनुसार स्थानीयको होहल्लापछि भाग्न खोजेको हात्तीले मानवीय क्षति गराएको हो । भाग्ने क्रममा रहेको हात्तीले फोटो खिच्दै गरेका मनोहरमाथि आक्रमण गरेको उनको भनाइ छ ।
वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ । दौडिएर छेउमै आइपुग्दा पनि वरपर हिलो भएका कारण छलिएर भाग्ने मौका नपाउँदा हात्तीले मनोहरलाई आक्रमण गरेको हो । भारतमा मानवीय क्षति गरेपछि विराटनगर महानगरपालिका–१८ बुधनगरको भेडियारी हुँदै उक्त हात्ती गय राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले हिजो चार जनालाई मारेको जानकारी आएको प्रहरीको भनाइ छ । बस्तीमा छिरेर वितण्डा मच्चाउँदै मान्छे मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ ।
नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको डीएसपी राईले बताए । स्थानीयको सहयोगमा प्रहरीले धपाएपछि हात्ती कुरेलीबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको छ । अरुलाई पनि आक्रमण गरेर क्षति गर्नसक्ने भएकाले हात्तीको वरपर जानबाट प्रहरीले सर्वसाधारणलाई रोकिरहेको छ ।
वन्यजन्तु विज्ञहरुले भने आक्रामक बनेर मान्छेमाथि आक्रमण गर्ने स्वभाव जङ्गली जनावरको हुने भएकाले नजिक जाने, लखेट्न खोज्ने र अवरोध पुर्याउने गर्न नहुने सुझाव दिएका छन् । डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहले भीडभाड र होहल्ला गरेर तर्साउने एवं लखेट्ने गर्दा हात्ती आक्रामक बनेर मानवीय क्षति गराएको बताए ।

