विराटनगर-  मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरीता सोरेनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न उनकै प्रेमी रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दालाई घटना भएको डेढ महिनापछि पक्राउ गर्न प्रहरी सफल भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुफल र सरीता केही समयअघिदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । भेट गर्न गएका बेला बिहे गरेर घरमै लगेर राख्नुपर्ने भन्दै सरीताले कर गर्न थालेपछि त्यसलाई अस्वीकार गरेका सुफलले कुटपिट गरेर र घाँटी थिचेर हत्या गरेको खुलेको उनको भनाइ छ । घटना लगभग डेढ महिनाअघिको हो । घरबाट बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा बीभत्स अवस्थामा फेला परेको थियो ।

घटनापछि फरार रहेका सुफललाई मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले महेन्द्रनगरको कञ्चनपुरबाट हिजोसाँझ पक्राउ गरेर मोरङ ल्याइपुर्याएको छ । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट आज म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

हत्यापछि फरार रहेका सुफल भारत गएर उतै बस्ने योजनामा रहेको पाइएको एसपी खड्काले बताए । विगत छ महिनादेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले दबाब दिन थालेपछि दुई जनाबीच वादविवाद बढेर घटना भएको देखिएको उनको भनाइ छ । सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार चिनजानका साथी रहेका सरीताका श्रीमान र सुफल दुवै जना ट्याक्टर चलाउँथे ।

श्रीमानको मृत्यु भएपछि सुफल प्रेमको नाटक गर्दै सरीतासँग नजिकिएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । हत्या गरिएकी सरीता पनि एक सन्तानकी आमा हुन् ।