विराटनगर- सिन्धुपाल्चोकमा गएराती आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल समेत बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए ।त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

यसैबिच सभामुख अग्निप्रसाद सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरेका छन। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा मंगलबार साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपुरणीय मानवीय र भौतिक क्षतिको खबरले आफू स्तब्ध भएको भन्दै सभामुखले प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका हुन ।