विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा गय राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा को ३५ प ५९७१ नम्बरको मोटरसाइकलका चालक नवलपरासी गैंगाकोट–९ घर भइ मोरङको सुन्दरहरैँचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको जानकारी प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले दिए ।
उनका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सडक निर्माणमा प्रयोग गरिने अनटेष्ट लोडरमा थापाले चलाएको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका लागि ल्याइपुर्याएपछि राति ८ः५५ बजेतिर विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–६ गछियाका ३० वर्षीय रूपक खड्का घाइते भएको प्रहरीले जनाएको छ । खड्काको अवस्था सामान्य छ । प्रहरीले लोडर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३३ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकसँग साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको एसपी शर्माले बताए । उनका अनुसार मोटरसाइकल चलाएका बेला चालकले मापसे (मादक पदार्थ सेवन) पनि गरेको पाइएको छ ।

