विराटनगर - केही खुकुलो प्रावधानसहित मोरङ प्रशासनले असार ७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको छ ।सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

असार १ गते बिहान १० बजेदेखि लागु हुने गरि असार ७ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा लम्ब्याईएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।उनले अबको निषेधाज्ञामा खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछामासु र पुस्तक पसल लगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने जानकारी दिए । अब वर्कसपहरु पनि बिहानैदेखि सञ्चालन गर्न सकिने उनले बताए ।

निषेधाज्ञा आदेशानुसार अब दुध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने पाइने छ । यस्तै सबैप्रकारका कृषिजन्य उत्पादनको ओसारपोसारमा पनि कुनै रोकटोक नहुने आदेशमा उल्लेख छ ।मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भने निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ ।