विराटनगर  - प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर व्यापारिक घरना चौधरी ग्रुपको चौधरी फाउण्डेसनले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गर्न थालेको छ । कोरोना महामारीका समयमा निःशुल्क उपलब्ध गराइएको सामग्रीको प्रयोगले कोरोना संक्रमितको उपचार सहज हुने अपेक्षा गरिएको छ ।

पहिलो पटक जिल्ला अस्पताल भोजपुर र इलामलाई दुई÷दुईवटा गरेर चारवटा अक्सिजन कन्सनट्रेटर (विद्युतबाट अक्सिजन उत्पादन गर्ने मेसिन) हस्तान्तरण गरिएको हो । प्रदेश सांसद शेखरचन्द्र थापाले कार्यालयको उद्घाटन गर्दै एक कार्यक्रमका बीच चार थान कन्सनट्रेटर मेसिन हस्तान्तरण गरे। थापाले व्यापारिक घरना चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोभिड–१९ (कोरोना सङ्क्रमण) को महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताएु  ।

कार्यक्रममा कार्यालयका प्रदेश १ का बजार प्रतिनिधिका प्रमुख, नबिल बैंकका प्रादेशिक प्रमुख सुवोध लोहनी लगायतको उपस्थिति थियो । यसअघि आफ्ना उद्योगमार्फत गरिएका उत्पादनलाई बजारसम्म पुर्याउने काम मात्रै गरिरहेको चौधरी ग्रुपले पहिलो पटक विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको छ । सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उदेश्य राखेर व्यापारिक घरनाले कार्यालय सञ्चालनमा ल्याएको जानकारी कार्यालयका प्रमुख रामजी कटुवालले दिए ।

दुर्गम जिल्लाहरुमा अक्सिजनको अभाव हुँदा कोरोना सङ्क्रमितको उपचारमा भइरहेको जटिलतालाई केही हदसम्म सहज बनाउने प्रयाय स्वरूप कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको जानकारी कटुवालले दिए । आगामी दिनमा पनि चौधरी फाउण्डेसनले सहयोगलाई निरन्तरता दिइरहने विश्वास कटुवालले दिलाए। सहयोगलाई निरन्तरता दिनका लागि कोरोना महामारीमा विभिन्न स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य सामग्रीको अभाव, बिरामीको उपचारमा भइरहेको असहजता तथा समस्याका बारेमा अध्ययन भइरहेको उनको भनाइ छ ।

कटुवालले विगतदेखि नै विपद्, शिक्षा र स्वास्थ्य क्षेत्रमा मुलुकलाई चौधरी ग्रुपले आफ्नो फाउण्डेसनमार्फत सहयोग गरिरहेको बताए । सुनसरीमा रहेको सिजी फुड्स उद्योगमार्फत ग्रुपले वाईवाई चाउचाउ, स्न्याक्स, क्विक्स चिप्स लगायतको उत्पादन र बिक्रीवितरण गरिरहेको छ । कटुवालका अनुसार ग्रुपले सिजी ब्रुअरीमार्फत मुस्ताङ, नेपाल आइस लगायतका बियर उत्पादन गरिरहेको छ । सिजी इलेक्ट्रोनिक्समार्फत एलजी र सिजी ब्राण्डका इलेक्ट्रोनिक्स सामग्रीहरुको उत्पादन तथा बिक्रीवितरणसमेत भइरहेको उनको भनाइ छ ।

सिजी बे्रभरेजमार्फत चौधरी ग्रुपले जुसहरु उत्पादन गर्दै बजारमा लगिरहेको छ । कटुवालले चौधरी ग्रुपका विभिन्न उत्पादनको बजार प्रवद्र्धन पनि अब भने प्रादेशिक कार्यालयबाटै हुने जानकारी दिए । सामाजिक सेवा र सहयोगलाई समेत निरन्तरता दिएर उत्पादित सामग्रीको बजार प्रवद्र्धनलाई तीव्र बनाइने उनको भनाइ छ ।