विराटनगर -  नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख रुपैया सहयोग रकम उपलब्ध गराएको छ ।कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले दिए ।

सो रकमको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश जाजू लगाएतलाई हस्तान्तरण गरिएको छ ।चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष  पवन कुमार सारडा , वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेश कुमार जाजू , सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी,  तथा एभरेष्ट बैंक लि., प्रदेश नं. १का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठ , विराटनगर शाखा प्रबन्धक साजन के.सी. र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको थियो ।

यसैबिच इसाई समाज विराटनगरले सहाानुभूति नेपालसँगको सहकार्यमा रंगेली नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताल लाई आवश्यक स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ ।

नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि समाजले सर्जिकल मास्क ५ हजार थान, हेयर नेट १०० थान, ग्लोब्स १०० थान, पीपीइ ७ थान, सेनिटाइजर ५ लिटर, क्लोरिन ५ लिटर, अक्सिमिटर ५ थान, थर्माेमिटर, मल्टिभिटामिन लगायतका स्वास्थ्य सामाग्रीहरू नगरपालिकालाई हस्तान्तरण गरेको हो ।