विराटनगर-मोरङबाट प्रहरीले हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका-८ का ६० वर्षीय अब्बास मियाँ रहेका छन् ।


इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकसरोज खनाल नेतृत्वको टोली उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । सुरुमा प्रहरीले धमला र भट्टराईलाई पक्राउ गरेको थियो । उनीहरुले दिएको सूचनाका आधारमा मियाँ पक्राउ परेका हुन् । 


धमला र भट्टराई सवार रहेको प्रदेश १-०२-०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१० भाउन्नेनजिक बिहिबार बिहान ६ः१५ बजेतिर दुर्घटनामा परेको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई किशोर र एक वृद्ध पुरुष सहित तीन जनालाई ठक्कर दिएको थियो ।


दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धमला र भट्राईसहित पैदल यात्री बेलबारी-११ का १६ वर्षीय प्रीतम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका-७ का ६५ वर्षीय दिलकुमार योगी गरेर पाँच जना घाइते भए । उनीहरुलाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । धमला र भट्टराईको अवस्था सामान्य छ । अरुलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको छ । 


दुर्घटनामा परेर घाइते भएकामध्ये मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनले झोलाबाट लागुऔषध आठ सय ९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद भएको छ । त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउँदा मुख्य कारोबारी मियाँसम्म पुग्न प्रहरी सफल भएको एसपी खड्काले बताए । दुर्घटनामा परेकाहरुलाई मियाँले नै लागुऔषध बिक्री गरेको खुलेको छ । 


सुनवर्षीस्थित रहेको मियाँको घरबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, छ सय ट्याब्लेट नाइट्राभेट र दुई बोतल डिसी नामक तरल लागुऔषध तथा एउटा चक्कु बरामद गरेको छ । मियाँ लागुऔषधका पुराना कारोबारी रहेको सूचना यसअघि नै पाए पनि पर्याप्त प्रमाणको अभावमा प्रहरीले पक्राउ गर्न सकिरहेको थिएन । 


प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागुऔषध र हतियार भारतबाट नेपाल भित्राउँदै घरमै डिलर सञ्चालन गरेर बिक्री गर्ने धन्दामा मियाँको संलग्नता पाइएको छ । एसपी खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट मियाँले आफूसँग सम्पर्कमा रहेका नेपाली डिलर सञ्चालकलाई बेच्ने र उनीहरुले भने प्रयोगकर्ताको खोजी गर्दै लागुऔषध ‘सप्लाई’ गर्ने गरेको पुष्टि भयो । 


पक्राउ परेकाहरुले हतियार र लागुऔषध कहाँकहाँ बिक्री गरेका छन्भन्ने बारेमा पनि प्रहरीले खोजी थालेको छ । एसपी खड्काले पक्राउ परेकाले दिएको सूचना र प्रहरीले प्राप्त गरेको प्रमाणका आधारमा अनुसन्धानको दायरा थप फराकिलो पारेर लगिएको जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।