विराटनगर- विराटनगर महानगरपालिका–३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएर उपचारका लागि लगिएपछि मृत्यु भएका चालकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका–३ घर भएका राजु ढकालको मृत्यु कोरोनाका कारण नभएको पाइएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासनजिक रोकिएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनी हिजो दिउँसो ३ बजेतिर बेहोस अवस्थामा भेटिएकाथिए । ढकाललाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।
कोरोना संक्रमण भएको आशंकामा नोबेल अस्पतालमै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । परीक्षण रिपोर्ट आजनेगेटिभ आएको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए । कोरोना संक्रमण नरहेको पाइएपछि मृतकको शव भने पोस्टमार्टम गरेर परिवारका सदस्यलाई दाहसंस्कारका लागि बुझाइसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
झ्याल र ढोकाका सबै सिसा बन्द गरेर गाडीभित्र सुतेपछि निधाएकाले थाहा नपाउँदा निसास्सिएर मृत्यु भएको पनि हुनसक्ने अनुमान प्रहरीको छ । बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो । प्रहरीले मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भनेर बुझ्ने काम गरिरहेको छ ।
मृत्युको अरु कुनै कारण पनि हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको डीएसपी राईको भनाइ छ । राईले मृतकको शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि र अनुसन्धान गर्दै जाँदा मृत्युको बारेमा यकिन हुने जानकारी दिए ।

