विराटनगर-  यस वर्षको राष्ट्रिय जनगणना अभियान कोरोना महामारीका कारण प्रभावित भएको छ । अवस्था सामान्य रहेको थियो भने हिजा े(मंगलबार)देखि सुरु भएर आगामी असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन सकेको छैन ।

हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार राष्ट्रिय जनगणना तोकिएको मितिमा हुन नसकेको यो पहिलो घटना हो ।

उनले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना  स्थगित भएको  समाचार आएको बताएकाछन । आगामी साउन १५ देखी असोज १५ सम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको पनि विभागले जनाएको छ ।

सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक समेत छनोट गरिसकेको विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको थियो ।

गत वैशाख २० गते सम्म तालिमलाई निरन्तरता दिँदै आएको विभागले कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि तालिम लगायत सबै कार्यक्रम स्थगित गरेको छ । वि.सं. १९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको जनगणना यो १२ औं पटक हो ।