विराटनगर- मोरङको केराबारीबाट हतियार र गोलीसहित प्रहरीले मंगलवारसाँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बू रहेका छन् । विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा पदमकुमारलाई नियन्त्रणमा लिएको हो ।
पदमकुमारले चलाएको को १ च ८३६८ नम्बरको कारभित्र एउटा कटुवा पेस्तोल र पाँच राउण्ड गोली फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार केराबारी गाउँपालिका–९ कुसुमेमा रहेका आफन्त गणेशबहादुर लिम्बूको घरनजिक रोकेर राखेको कारभित्र पेस्तोल र गोली बरामद भएको हो । पदमकुमार कारभित्र पेस्तोल र गोली राखेर गणेशबहादुरको घरमा पुगेको खुलेको छ ।
प्रहरीले गणेशबहादुरसँग पनि सोधपुछ गरिरहेको छ । हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान थालिएको एसपी खड्काले बताए । पक्राउ परेका लिम्बूविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी उनले दिए।
कारभित्र हतियार राखेर हिँड्ने र सर्वसाधारणलाई धम्क्याउने गरेको सूचना आएपछि प्रहरीले पदमकुमारको खोजी थाल्दै पिछा गरिरहेको थियो । विगतमा कुनै आपराधिक घटनामा संलग्नता छ कि छैनभन्ने बारेमा यकिन गर्न थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

