विराटनगर - सरकारी गाडीभित्र बेहास भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको छ । आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई आज दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेका हुन् । राईका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्रै चालक विराटनगर महानगरपालिका–३ मा बेहोस भेटिएका हुन् । घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नै अगाडि पर्छ ।
डीएसपी राईका अनुसार बेहोस अवस्थामा भेटिएका बेला श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो पाइएकाले मृतकमा कोरोना संक्रमण भए÷नभएको यकिन गर्न पीसीआर परीक्षणको तयारी गरिएको छ । उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्थे । डेराबाट गाडी लिएर उहाँ बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्रहरीले जनाएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकाल मन्त्रालयकै क्वार्टरमा बस्छन ।
उनले आफूलाई लिन आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खवर आएको र हेर्न जाँदा मृत्यु भएपछि आफूले भेटेको जानकारी दिए । चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् ।
मुख्यमन्त्री निवास अगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेका हुन् । चालक ढकालको मत्युको कारण खुलेको छैन । मृतकको शवको पोस्टमार्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत र यकिन विवरण प्राप्त हुने जानकारी डीएसपी राईले दिए।

