विराटनगर- राजनैतिक एवं सामाजिक अभियन्ता कृष्ण कार्कीले विराटनगर महानगरपालिकाभित्र कोरोना संक्रमितलाई बोक्नका लागि अक्सिजनसहितको एम्बुलेन्स निःशुल्क उपलब्ध गराएकाछन । संक्रमितलाई उपचारका लागि अस्पतालसम्म लैजान एम्बुलेन्स नपाउने अवस्था बनिरहेका बेला उनले चन्द्र पराजुली फाउण्डेसनसँगको सहकार्यमा आफ्नै निजी खर्चमा को २ च ३१२२ नम्बरको एम्बुलेन्सको व्यवस्था मिलाएका हुन ।
पारिवारिक आर्थिक अवस्था कमजोर बनेका संक्रमितले सहज रुपमा एम्बुलेन्स सेवा नपाउँदा अस्पताल नपुगिकन ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भइरहेको पाएपछि अक्सिजनसहितको एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएको उनले बताए । कार्की नेपाल विद्यार्थी संघका पूर्वसह–महामन्त्री एवं नेपाली कांग्रेसका युवा नेता हुन। उनी आफैले दैनिक १२ हजार रुपैयाँभन्दा बढी खर्च गर्दै उपचारका लागि संक्रमितलाई अस्पताल र निको भएकालाई घरसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएकाहुन ।
विराटनगर महानगरपालिकाभित्र उक्त एम्बुलेन्स प्रयोग गरेवापतको खर्च संक्रमित कसैले पनि बेहोर्नु पर्दैन । एम्बुलेन्स चालकलाई भत्ता, आवश्यक पीपीई तथा इन्धन लगायत गरेर दैनिक १२ हजार रुपैयाँभन्दा बढी खर्च भइरहेको र त्यो सबै आफैले बेहोर्दै आएको जानकारी कार्कीले दिए । एम्बुलेन्सले एक दिनमा १६ जनाभन्दा बढी संक्रमितलाई उपचारका लागि अस्पताल लैजाने काम गरिरहेको छ । त्योबाहेक निको हुनेलाई घरसम्म पुर्याउने काम पनि गर्दै आएको छ ।
महामारीका बेला गम्भीर अवस्थाका संक्रमितले अस्पतालसम्म पुग्ने एम्बुलेन्स पनि नपाएर छटपटाइरहेको तथा मृत्युवरण गरिरहेको पीडा सहन नसकेर निजी खर्चमा एम्बुलेन्सको व्यवस्था गरिदिएको कार्कीको भनाइ छ । उनले संक्रमण पुष्टि भएर अवस्था गम्भीर बन्दा पनि एम्बुलेन्स अभावका कारण उपचारका लागि अस्पतालसम्म जान नपाएकाले सम्पर्क गर्दा तत्काल सेवा उपलब्ध हुने बताए । महामारी नियन्त्रणमा नआएसम्म सेवा सुचारु रहने कार्कीको भनाइ छ ।
प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका कोरोनाबाट प्रदेशमै सबैभन्दा बढी प्रभावित बनेको स्थानीय तह हो । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता मात्रै विराटनगरमा नौ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विराटनगरमा कोरोना संक्रमितमध्ये एक सय १७ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

