विराटनगर-  नेपाल–भारत संयुक्त सुरक्षा बैठक कोरोना महामारी नियन्त्रण, सम्भावित बाढी र डुबानको जोखिमका विषयमा केन्द्रित भएको छ । भर्चुअल (जुम) माध्यमबाट  आईतबार आयोजित बैठक अन्तरदेशीय अपराध नियन्त्रणमा पनि केन्द्रित रहयो । कोरोना महामारी नियन्त्रणका लागि आपसी सहकार्य एवं साझा प्रयास आवश्यक रहेको निस्कर्ष निकाल्दै बैठकमा दुवै देशका सुरक्षा अधिकारीले एकअर्कामा सहयोग अदानप्रदान गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोनाका कारण निम्तिएको मानवीय संकट र त्यसको न्यूनीकरणका विषयमा पनि बैठकमा छलफल भएको सुरक्षा स्रोतले बतायो । बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी प्रमुख माधव पौडेलको सहभागीता रहकोे थियो । भारतका तर्फबाट बिहार राज्यको अररिया जिल्लाका डीएम (जिल्ला प्रमुख) प्रशान्त सी.एच र एसपी हृदयकान्त उपस्थित थिए ।

सुरक्षा अधिकारीहरुले कोरोना संक्रमण अहिलेको मुख्य चुनौती रहेको भन्दै नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेको औंल्याए । संयुक्त बैठकमा कोरोना नियन्त्रणका सवालमा देखिएका समस्या र चुनौतीलाई पन्छाउँदै अघि बढ्ने सहमति भएको छ । कोरोना थप फैलन नदिन दुई देशीय सीमा नाकामा थप कडाइ तथा सीमा क्षेत्रबाट भइरहेको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्ने, आपसी सहयोग र सहकार्यलाई प्राथमिकतामा राखेर साझा प्रयासमा केन्द्रित हुने, सूचनाको आदानप्रदान गर्ने, सीमा कडाइलाई यथावत राख्ने लगायतका विषयमा बैठकमा छलफल भएको छ ।

बैठकमा दुई देशका अधिकारीले अन्तरदेशीय अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता दोहोर्याएका छन् । सीमा क्षेत्रमा हुने अवैध गतिविधी, सीमा अपराध, मानव तस्करी, लागुऔषध, हतियार र मदिराको ओसारपसार लगायत मानवताविरुद्धका सबै अपराध नियन्त्रण तथा सीमा व्यवस्थापनमा साझा प्रतिवद्धता बैठकमा जनाइएको हो । त्यस्तै वर्खाका समयमा हुनसक्ने सम्भावित बाढी र डुबानको जोखिम न्यूनीकरणका विषयमा पनि बैठक केन्द्रित भएको थियो । वर्खामा हुने बाढी र डुबानको समस्याको समाधान एवं जोखिम न्यूनीकरणका लागि तयारीमा लाग्ने योजना बैठकबाट बनेको छ ।