विराटनगर -  प्रदेश १ प्रदेशसभामा आजदेखि आठौं एवं बजेट अधिवेशन सुरु हुँदै छ । अधिवेशनको अघिल्लो दिन प्रदेशसभा सचिवालयले सबैको कोरोना परीक्षण गरेको छ । सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गराएको हो ।

स्वाब संकलन गरेर परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा दुई जना चालक, दुई सुरक्षाकर्मी र एक जना पत्रकार छन् । पीसीआर परीक्षण गरिएकामध्ये पाँच जनाको रिपोर्ट पोजिटिभ आउँदा अरुको रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूची छ । प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ ।

प्रदेशसभाको बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । कांग्रेसले समयमा ध्यानाकर्षण गराउँदासमेत प्रदेश सरकारले बजेट अधिवेशन आह्वान नगरी पूर्वबजेट छलफललाई औपचारिकतामा मात्रै सीमित गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्नु आपत्तिजनक भएको बताएको छ ।